नेपालमा पहिलोपटक दृष्टिविहीन व्यक्तिहरूको सहभागितामा ऐतिहासिक सेतो छडी वाकाथन प्रतियोगिता सम्पन्न

calendar_today October 15, 2026
label News and Events

काठमाडौँ, २०८३ असोज २९ गते (१५ अक्टोबर २०२६)

नेपालमा पहिलोपटक दृष्टिविहीन महिला तथा पुरुषहरूको सहभागितामा सेतो छडी, स्वतन्त्रताको आधार, सुरक्षित यात्रा सबैको अधिकार भन्ने नारा सहित ऐतिहासिक सेतो छडी वाकाथन प्रतियोगिता सम्पन्न भएको छ। ६३औँ अन्तर्राष्ट्रिय सेतो छडी सुरक्षा दिवस, २०२६ को अवसरमा आज काठमाडौँमा आयोजित यस प्रतियोगितामा १० जना दृष्टिविहीन महिला र १० जना दृष्टिविहीन पुरुष गरी कुल २० जना प्रतियोगी सहभागी भएका थिए।

पुरुषतर्फको वाकाथन प्रतियोगितामा सहभागी भएका दृष्टिविहीनहरू बलराम ज्ञवाली, दिर्घ थापा, उपेन्द्र थापा, दिपेश थापा, मदन रोकाया, सन्दीप थापा, सुजन मगर, शंकर थिङ, दिनेश पौडेल र सन्देश स्याङ्बो मध्ये दिपेश थापाले प्रथम, सन्दीप थापाले द्वितीय र मदन रोकायाले तृतीय स्थान हासिल गर्न सफल भएका थिए। त्यसैगरि दृष्टिविहीन महिलाहरू तर्फ निर्मला ज्ञवाली, नीतु तामाङ, सुनिता चापागाईँ, जुनु श्रेष्ठ, जिमावती लामकोलिया, पुस्तिका प्रजापति, मिना गोले, उमा चौधरी, सरिता के.सी. र लालुमाया भुजेल मध्ये जिमावती लामकोलियाले प्रथम, उमा चौधरीले द्वितीय र सरिता के.सी.ले तृतीय स्थान हासिल गर्न सफल भएका थिए।

नेपाल नेत्रहीन सङ्घ, Seeing Hands Nepal, नेत्रहीन युवा सङ्घ नेपाल, Supportive Action Towards Humanity (SATH), नेपाल दृष्टिविहीन कल्याण सङ्घ, नेत्रहीन क्रिकेट सङ्घ नेपाल र नेत्रहीन महिला सङ्घ नेपालको संयुक्त आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो। भृकुटीमण्डपबाट सुरु भएको वाकाथन सहिदगेट हुँदै शान्तिबाटिकामा पुगेर सम्पन्न भएको थियो।

A group of participants wearing white t-shirts and white caps walk outdoors on a paved pathway using white cane mobility aids, guided by a traffic police officer in blue uniform.

प्रतियोगितालाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न नेपाल प्रहरी तथा ट्राफिक प्रहरीले सक्रिय रूपमा स्वयंसेवी सहयोग प्रदान गरेका थिए। त्यसैगरी, काठमाडौँ मोडेल अस्पतालले मेडिकल टोली परिचालन गरी कार्यक्रमस्थलमा स्वास्थ्यसम्बन्धी सहयोग उपलब्ध गराएको थियो। सुरक्षा व्यवस्थापन र स्वास्थ्य सेवामा प्राप्त यस सहयोगले कार्यक्रमलाई सुरक्षित रूपमा सम्पन्न गर्न योगदान पुर्‍याएको थियो।

प्रतियोगितापछि नेपाल नेत्रहीन सङ्घका अध्यक्ष श्री शिशिर खनालको सभाध्यक्षतामा तथा माननीय श्री रमेश प्रसाईं, सदस्य, प्रतिनिधि सभा संघीय संसद्, नेपालको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण तथा समापन समारोह आयोजना गरिएको थियो। समारोहको उद्घोषण SATH की श्री नविना ज्ञवालीले गर्नुभएको थियो। महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगीहरूलाई प्रमुख अतिथि माननीय रमेश प्रसाईँले पुरुष तथा महिला दुवै विधामा क्रमशः प्रथम पुरस्कार रु. १०,०००, द्वितीय पुरस्कार रु. ७,५०० र तृतीय पुरस्कार रु. ५,००० नगदसहित पदक तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो। दुवै विधाका विजेताहरूका लागि कुल रु. ४५,००० नगद पुरस्कार प्रदान गरिएको थियो।

President of Nepal Association of the Blind together with chief guests and co-organizers distributing medal to female winner of the walkathon competition

पुरस्कार वितरणपछि प्रमुख अतिथि माननीय रमेश प्रसाईँले नेपालमा पहिलोपटक आयोजित यस ऐतिहासिक प्रतियोगिताले दृष्टिविहीन व्यक्तिहरूको क्षमता, स्वतन्त्रता र सार्वजनिक जीवनमा समान सहभागिताको अधिकारलाई उजागर गरेको कुरालाई मनन गर्दै दृष्टिविहीन व्यक्तिहरूका लागि सुरक्षित तथा पहुँचयुक्त वातावरण निर्माण गर्न राज्यका निकाय, सेवा प्रदायक, नागरिक समाज र आम नागरिकको साझा जिम्मेवारी रहेको कुरा माथी जोड दिनुभयो ।

आयोजक संस्थाहरूका तर्फबाट धन्यवाद ज्ञापन गर्नुहुँदै कार्यक्रमका सभाध्यक्ष तथा नेपाल नेत्रहिन संघका अध्यक्ष श्री शिशिर खनालले सेतो छडी दृष्टिविहीन व्यक्तिहरूका लागि स्वतन्त्र आवागमन, आत्मविश्वास र सुरक्षित यात्राको महत्त्वपूर्ण माध्यम भएको बताउनुहुँदै दृष्टिविहीन व्यक्तिहरूलाई सम्भावित अवरोध पहिचान गर्दै आत्मनिर्भर रूपमा हिँडडुल गर्न सहयोग पुर्‍याउँने कुरामा प्रकाश पार्नु भयो। सेतो छडी, स्वतन्त्रताको आधार, सुरक्षित यात्रा सबैको अधिकार” भन्ने नारालाई केवल सडकमा गुञ्जाइएको नारामा मात्र सीमित नराखी, दृष्टिविहीन व्यक्तिहरूका लागि हिँड्न सहज र अवरोधरहित सडक, पहुँचयुक्त सार्वजनिक स्थल र समावेशी समाज निर्माण गर्न यो ऐतिहासिक वाकाथनले राज्य र सम्पूर्ण नागरिक समाजलाई गम्भीर ध्यानाकर्षण गराएको छ।

Group image of participants, guests, organizers, and volunteers of the walkathon competition.