प्रेस विज्ञप्ति

calendar_today August 27, 2026
label News and Events

भोटेकोशी बाढीबाट प्रभावित दृष्टिविहीनलगायत अपाङ्गता भएका व्यक्तिहरूको खोज, उद्धार, राहत तथा पुनःस्थापनामा विशेष प्राथमिकता दिन आग्रह

काठमाडौं, ११ भदौ २०८३

रसुवा जिल्लाको रसुवागढी तथा भोटेकोशी नदी आसपासमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति नेपाल नेत्रहीन संघ गहिरो दुःख व्यक्त गर्दछ। यस विपद्मा परी ज्यान गुमाउनु भएका सम्पूर्ण नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ। साथै, बेपत्ता नागरिकहरूको शीघ्र खोजी तथा उद्धारका लागि नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा उद्धार कार्यमा खटिएका सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्दछौँ।

भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। सडक, पुल, विद्युत्, सञ्चारलगायतका भौतिक पूर्वाधारमा भएको क्षतिका कारण प्रभावित समुदायको दैनिक जीवन थप कठिन बनेको छ। सरकारले खोज तथा उद्धार कार्यलाई तीव्र बनाउँदै विभिन्न सुरक्षा निकाय तथा हेलिकप्टर परिचालन गरेको र राहत सामग्री प्रभावित क्षेत्रमा पठाउन थालेको समाचारप्रति संघ सकारात्मक छ।

तर विपद्को समयमा दृष्टिविहीन, न्यूनदृष्टियुक्त, बहिरा, शारीरिक, बौद्धिक, अटिजम तथा अन्य प्रकारका अपाङ्गता भएका व्यक्तिहरू थप जोखिममा पर्न सक्ने भएकाले उनीहरूको आवश्यकता र अवस्थालाई छुट्टै पहिचान गरी उद्धार तथा राहत कार्यमा विशेष प्राथमिकता दिन अत्यन्त आवश्यक छ।

यस सन्दर्भमा नेपाल नेत्रहीन संघ नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, सुरक्षा निकाय, मानवीय सहायता तथा राहतमा संलग्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र सबै सरोकारवालालाई निम्न विषयमा विशेष ध्यान दिन हार्दिक आग्रह गर्दछ:

१. अपाङ्गता भएका व्यक्तिको तत्काल पहिचान र खोजी

बाढी प्रभावित क्षेत्रका दृष्टिविहीनलगायत अपाङ्गता भएका व्यक्तिहरूको छुट्टै विवरण तत्काल सङ्कलन गरी उनीहरूको अवस्था यकिन गर्न तथा बेपत्ता वा जोखिममा रहेका व्यक्तिको खोजीलाई प्राथमिकतामा राख्न अनुरोध गर्दछौँ।

२. उद्धारमा विशेष प्राथमिकता

अपाङ्गता भएका व्यक्तिहरूलाई सामान्य उद्धार प्रक्रियामा मात्र निर्भर नराखी उनीहरूको कार्यगत आवश्यकता र जोखिमको स्तरका आधारमा विशेष प्राथमिकताका साथ सुरक्षित स्थानमा उद्धार तथा स्थानान्तरण गर्न अनुरोध गर्दछौँ।

विशेषगरी दृष्टिविहीन व्यक्तिलाई अपरिचित स्थानमा एक्लै स्थानान्तरण गर्दा थप जोखिम हुन सक्ने भएकाले उद्धारका क्रममा उनीहरूलाई आवश्यक मानवीय सहयोग तथा सुरक्षित मार्गदर्शनको व्यवस्था गरिनुपर्छ।

३. पहुँचयुक्त पूर्वसूचना तथा आपत्कालीन सूचना

विपद्सम्बन्धी चेतावनी, उद्धारसम्बन्धी सूचना, राहत वितरणको समय तथा स्थानसम्बन्धी जानकारी दृष्टिविहीनलगायत सबै प्रकारका अपाङ्गता भएका व्यक्तिले बुझ्न र प्रयोग गर्न सक्ने ढाँचामा तत्काल उपलब्ध गराउन अनुरोध गर्दछौँ।

सूचना केवल पोस्टर, लिखित सूचना वा सामाजिक सञ्जालमा दृश्य सामग्रीका रूपमा सीमित नगरी आवाज, फोन, एसएमएस तथा अन्य पहुँचयुक्त माध्यमबाट समेत प्रवाह गरिनुपर्छ।

४. राहत वितरणमा समान पहुँच र प्राथमिकता

राहत वितरण गर्दा अपाङ्गता भएका व्यक्तिहरूलाई छुट्टै पहिचान गरी उनीहरूको आवश्यकताअनुसार खाद्यान्न, खानेपानी, कपडा, औषधि, स्वच्छता सामग्री, आवास तथा अन्य आवश्यक सामग्रीमा प्राथमिकता र सहज पहुँच सुनिश्चित गरिनुपर्छ।

राहत लिन लामो दूरी हिँड्नुपर्ने, लाइनमा लामो समय बस्नुपर्ने वा अप्ठ्यारो भौतिक संरचना भएका वितरण केन्द्रमा पुग्नुपर्ने अवस्था सिर्जना नगर्न अनुरोध गर्दछौँ।

५. सहायक सामग्रीको संरक्षण र तत्काल व्यवस्था

बाढीका कारण दृष्टिविहीन व्यक्तिको सेतो छडी, ब्रेल सामग्री, ब्रेल डिस्प्ले, मोबाइल फोन, श्रवण उपकरण, ह्विलचेयर, बैसाखी तथा अन्य सहायक सामग्री हराएको वा क्षति भएको हुन सक्छ। यस्ता सामग्रीलाई विलासिताका वस्तुका रूपमा नभई व्यक्तिको स्वतन्त्रता, सञ्चार र सुरक्षाका लागि अत्यावश्यक साधनका रूपमा लिई तत्काल पुनःव्यवस्था गर्न अनुरोध गर्दछौँ।

६. अस्थायी आश्रयस्थललाई पहुँचयुक्त बनाउने

विपद् प्रभावित व्यक्तिहरूलाई राखिने अस्थायी आश्रयस्थल तथा राहत शिविरमा भौतिक, सूचना तथा सञ्चार पहुँच सुनिश्चित गरिनुपर्छ। शौचालय, खानेपानी, खाना वितरण, स्वास्थ्य सेवा र आवतजावतका संरचनामा अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक पहुँच र सहयोग उपलब्ध हुनुपर्छ।

७. परिवार तथा सहयोगी व्यक्तिसँग पुनर्मिलन

अपाङ्गता भएका व्यक्तिलाई उद्धार गर्दा उनीहरूलाई परिवार, व्यक्तिगत सहयोगी वा हेरचाहकर्ताबाट अनावश्यक रूपमा अलग नपार्न तथा छुट्टिएका परिवारजनको पहिचान र पुनर्मिलनका लागि विशेष संयन्त्र बनाउन अनुरोध गर्दछौँ।

८. राहत तथा पुनःस्थापनाको तथ्यांकमा अपाङ्गताको विवरण समावेश गर्नुपर्ने

क्षतिको विवरण सङ्कलन गर्दा अपाङ्गता भएका व्यक्तिहरूको लैङ्गिकता, उमेर, अपाङ्गताको प्रकार, सहयोगको आवश्यकता, विस्थापनको अवस्था र आवश्यक सहायक सामग्री लगायतका विवरणसमेत समावेश गर्न अनुरोध गर्दछौँ। अपाङ्गता भएका व्यक्तिको तथ्याङ्कबिनाको राहत तथा पुनःस्थापना योजना अपाङ्गता समावेशी हुन सक्दैन।

९. अपाङ्गता भएका व्यक्तिका प्रतिनिधिमूलक संस्थासँग समन्वय

राहत, उद्धार तथा पुनःस्थापनाका योजना निर्माण र कार्यान्वयनमा नेपाल नेत्रहीन संघ तथा अन्य अपाङ्गता भएका व्यक्तिका प्रतिनिधिमूलक संस्थाहरूलाई अर्थपूर्ण रूपमा सहभागी गराउन अनुरोध गर्दछौँ। प्रभावित व्यक्तिको वास्तविक आवश्यकता पहिचान गर्न उनीहरू स्वयं तथा उनीहरूका प्रतिनिधिमूलक संस्थासँग परामर्श गर्नु अत्यन्त आवश्यक छ।

नेपाल नेत्रहीन संघ विपद्को यस कठिन घडीमा सरकार, सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज, विकास साझेदार तथा मानवीय सहायता प्रदान गर्ने सबै निकायसँग सहकार्य गर्न प्रतिबद्ध रहेको स्पष्ट गर्दछ।

विपद्को समयमा सबैभन्दा पहिले सबैभन्दा बढी जोखिममा रहेका व्यक्ति भन्ने मानवीय सिद्धान्तलाई व्यवहारमा लागू गरिनुपर्छ। दृष्टिविहीनलगायत अपाङ्गता भएका व्यक्तिहरूलाई राहत तथा उद्धारको सामान्य प्रक्रियामा समेटेर मात्र पुग्दैन; उनीहरूको विशिष्ट आवश्यकता पहिचान गरी आवश्यकताअनुसार विशेष प्राथमिकता र उचित सहयोग सुनिश्चित गर्नुपर्छ।

अन्त्यमा, भोटेकोशी बाढीबाट प्रभावित सम्पूर्ण नागरिकको जीवनरक्षा, शीघ्र उद्धार, राहत, स्वास्थ्य उपचार तथा सुरक्षित पुनःस्थापनाका लागि राज्यका सबै संयन्त्र र मानवीय सहायता क्षेत्रमा कार्यरत सबै निकायलाई थप प्रभावकारी, समन्वित र अपाङ्गता समावेशी विपद् प्रतिकार्य सुनिश्चित गर्न नेपाल नेत्रहीन संघ हार्दिक आह्वान गर्दछ।

खोमराज शर्मा
सूचना अधिकारी
मोबाइल: ९८५६०३०६९८

कार्यालय फोन: ०१-४३७६५९८/४३७६५८०