हार्दिक अपिल
हालै सञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित समाचारहरूअनुसार दृष्टिविहीन बेरोजगार नागरिकहरूले आफ्ना रोजगारी, अधिकार र सम्मानजनक जीवनयापनको माग गर्दै काठमाडौंको माइतीघरमा धर्ना दिएको विषयप्रति नेपाल नेत्रहीन संघको गम्भीर ध्यानाकर्षण भएको छ । यो आन्दोलन दृष्टिविहीन समुदायले लामो समयदेखि भोगिरहेको रोजगारी तथा आर्थिक असुरक्षाको वास्तविक प्रतिबिम्ब हो, र यसलाई राज्यले गम्भीरतापूर्वक लिन संघले हार्दिक अपिल गर्दछ ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्ने अधिकार, समानताको अधिकार, रोजगारीको अवसर तथा सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको छ । साथै, नेपाल पक्ष राष्ट्र रहेको अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (UNCRPD) तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ ले अपाङ्गता भएका व्यक्तिहरूलाई विभेदरहित, समावेशी र मर्यादित जीवनयापनको सुनिश्चित गर्ने दायित्व राज्यको रहेको छ । यी कानुनी प्रावधानहरूको कार्यान्वयनमा देखिएको खाडल नै आजको आन्दोलनको प्रमुख कारण हो ।
दृष्टिविहीन व्यक्तिहरू दया, सहानुभूति वा सहयोगका पात्र होइनन्; उनीहरू क्षमता, सीप र ज्ञानको माध्यमबाट योगदान गर्न सक्ने अधिकार सम्पन्न नागरिक हुन् । तर उचित शिक्षा, सीप विकास, पहुँचयुक्त रोजगारी, स्वरोजगारका अवसर तथा आवश्यक सहयोग प्रणालीको अभावका कारण धेरै दृष्टिविहीन व्यक्तिहरू बाध्य भएर सडकमा पुग्ने अवस्था सिर्जना हुनु अत्यन्त दुःखद र राज्यका लागि गम्भीर चुनौतीको विषय हो । यसै बिषयमा बेरोजगार दृष्टिसम्बन्धि अपाङ्गता भएका व्यक्तिहरुको सवाललाई लिएर प्रतिनिधि सभाका सदस्य माननीय श्री रमेश प्रसाईं ज्यूले प्रतिनिधि सभाको बैठकको सून्य समयमा जोडदार आवाज उठाउनुभएकोमा नेपाल नेत्रहीन संघ हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ । उहाँको आवाजले संसदमा दृष्टिविहीन नागरिकहरूको वास्तविक अवस्था र अधिकारको विषयलाई राष्ट्रिय बहसको विषय बनाएको छ, जो यस समुदायका लागि एक सकारात्मक र आशालाग्दो पहल हो । साथै, अन्य सबै माननीयज्यूहरू र नागरिक समाजलाइ यस आन्दोलनप्रति ऐक्यबद्धता र सहयोगको लागि यस सङ्घ हार्दिक अपिल गर्दछ ।
यसै सन्दर्भमा नेपाल नेत्रहीन संघ निम्न उल्लेखित मागहरू पूरा गर्न सरोकारवाला पक्षहरुको गम्भिर ध्यानाकर्षण गराउँदछ:
- १. दृष्टिविहीन नागरिकहरूलाई उनीहरुको सीप, दक्षता, क्षमता र योग्यता बमोजिम पहुँचयुक्त रोजगार तथा स्वरोजगारको सुनिश्चितता गरियोस् ।
- २. तत्काल रोजगारी वा स्वरोजगारको अवसर उपलब्ध गराउन नसक्ने अवस्थामा सम्मानजनक तथा जीवन निर्वाहको लागि कम्तीमा नेपालको प्रतिव्यक्ति आय बराबरको जीवन निर्वाह भत्ताको व्यवस्था गरियोस् ।
- ३. दृष्टिविहीन व्यक्तिहरूले परम्परागत सीप, कला तथा उत्पादनमार्फत जीविकोपार्जन गर्न चाहने अवस्थामा उनीहरूलाई निश्चित, सुरक्षित र व्यवस्थित स्थान उपलब्ध गराई आफ्नो कला तथा उत्पादन बिक्री गर्ने वातावरण मिलाइयोस्।
- ४. नीति तथा कार्यक्रम निर्माण गर्दा दृष्टिविहीनलगायत सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता सबै तहमा सुनिश्चित गरियोस् ।
शिशिर खनाल
अध्यक्ष
नेपाल नेत्रहीन संघ, केन्द्रिय कार्यालय
काठमाडौं, नेपाल
मिति: २०८३/०३/१२
