दृष्टिबिहीनमैत्री बैंकिङ सेवा सुनिश्चित गर्न नेपाल राष्ट्र बैंकलाई पहलको आग्रह:

calendar_today September 2, 2025
label News and Events
तस्बिरमा बाँया तिरबाट: प्रो. डा. विश्वनाथ पौडेल, नेपाल राष्ट्र बैंकका गभर्नर; श्री शिशिर खनाल, नेपाल नेत्रहीन संघका केन्द्रीय अध्यक्ष; श्री खोमराज शर्मा, समावेशीकरण सल्लाहकार; र श्री कुमार राई, चालक।
info पहुँचयुक्त बैंकिङ सेवा सम्बन्धी निर्देशिकाको मस्यौदा हस्तान्तरण

काठमाडौं, श्रावण २१, २०८२:

नेपाल नेत्रहीन संघका केन्द्रीय अध्यक्ष श्री शिशिर खनाल र समावेशिकरण सल्लाहकार श्री खोमराज शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेललाई भेट गरी दृष्टिबिहीन तथा न्यून दृष्टियुक्त व्यक्तिहरूले बैंक तथा वित्तीय सेवामा भोगिरहेका समस्या र चुनौतीबारे जानकारी गराएको छ।

गभर्नरको कार्यकक्षमा सम्पन्न भेटवार्तामा संघले दृष्टिबिहीन मैत्री पहुँचयुक्त बैंकिङ सेवा सुनिश्चित गर्न नेपाल राष्ट्र बैंकले अवलम्बन गर्न सक्ने ‘पहुँचयुक्त बैंकिङ सेवा सम्बन्धी निर्देशिका’ को मस्यौदा हस्तान्तरण गरेको थियो।

संघको तर्फबाट प्रस्तुत मस्यौदा र आग्रहलाई गम्भीरतापूर्वक ग्रहण गर्दै गभर्नर डा. पौडेलले यो विषय अति संवेदनशील तथा महत्वपूर्ण भएको उल्लेख गर्नुभयो। साथै, यस समस्याको शीघ्र समाधानका लागि आवश्यक पहल र कार्य अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।

नेपाल नेत्रहीन संघले यस पहललाई दृष्टिबिहीन समुदायको आर्थिक पहुँच र वित्तीय समावेशिताका दृष्टिकोणले ऐतिहासिक कदमको रुपमा लिएको छ।