दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिहरूले दैनिक जीवनयापनका क्रममा विभिन्न बाधा, अवरोध तथा चुनौतीहरूको सामना गरिरहनु परेको सर्वविदितै छ। गरिबी र बेरोजगारीको चपेटामा परेका यस समुदायका कतिपय व्यक्तिहरू चरम अभावसँग संघर्ष गर्दै बिहान–बेलुकाको छाक टार्नका लागि विभिन्न धार्मिक स्थल तथा ठूला सहरका सडक पेटीहरूमा आफ्नो कला र सीप प्रदर्शन गरी आयआर्जन गर्न बाध्य छन्। सडक पेटी वा धार्मिक क्षेत्रहरूमा आफ्नो कला प्रस्तुत गरेर मनकारी महानुभावहरूबाट प्राप्त हुने स्वैच्छिक सहयोगकै भरमा उनीहरूले आफ्नो तथा परिवारको जीविकोपार्जन गर्दै आएका छन्।
सडक पेटी तथा धार्मिक स्थलहरूलाई व्यवस्थित बनाउने स्थानीय सरकारहरूको अभियान सकारात्मक भए तापनि दृष्टिविहीन व्यक्तिहरूको संवेदनशील अवस्थालाई पूर्ण रूपमा उपेक्षा गरिएकोप्रति नेपाल नेत्रहीन संघको गम्भीर ध्यानाकर्षण भएको छ। जीवन निर्वाहको कुनै उपयुक्त विकल्प नै उपलब्ध नगराई सडकमा आश्रित दृष्टिविहीन व्यक्तिहरूमाथि जबरजस्ती धरपकड गर्ने, उनीहरूका सामग्री जफत गर्ने तथा अमानवीय व्यवहार गर्ने गरिएको भनी पीडित पक्षले यस संघलाई जानकारी गराएका छन्।
नागरिकको मतबाट निर्वाचित लोकतान्त्रिक सरकारप्रति आम जनताका धेरै अपेक्षाहरू हुनु स्वाभाविक हो। यसै सन्दर्भमा, दृष्टिविहीन व्यक्तिहरूले पनि सम्मानजनक रोजगारी, स्वरोजगारको अवसर तथा सहज जीवनयापनको अपेक्षा गर्नु उनीहरूको नैसर्गिक अधिकार हो।
तसर्थ, दृष्टिविहीन नागरिकहरूका लागि उपयुक्त रोजगारीको सुनिश्चितता गर्न तथा सो सम्भव नभएको अवस्थामा सम्बन्धित स्थानीय तहमार्फत नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी “बेरोजगारी भत्ता” उपलब्ध गराउन नेपाल नेत्रहीन संघ नेपाल सरकार तथा स्थानीय सरकारसमक्ष जोडदार माग गर्दछ।
सडकको घाम, पानी, धुवाँ र धुलो सहेर कष्टकर जीवन व्यतीत गर्नु दृष्टिविहीन समुदायको रहर नभई बाध्यता हो। जबसम्म सरकारले उचित विकल्पसहित सम्मानजनक व्यवस्थापन गर्न सक्दैन, तबसम्म बाध्यतावश सडकमा आउनु परेका दृष्टिविहीन व्यक्तिहरूमाथि धरपकड नगर्न, उनीहरूका सामान जफत नगर्न तथा कुनै पनि प्रकारको अमानवीय व्यवहार नगर्न यस संघ सम्बन्धित सम्पूर्ण निकायहरूको कानुनी तथा मानवीय ध्यानाकर्षण गराउँदछ।
